रविवार, 13 अक्टूबर 2024

१) पवित्र आत्माको बप्तिस्मा र पवित्र आत्माको भरपूरी भनेको के हो? के यी दुवै एउटै हुन्?

 प्रदेश श्रेष्ठ

१) पवित्र आत्माको बप्तिस्मा र पवित्र आत्माको भरपूरी भनेको के हो? के यी दुवै एउटै हुन्?

एउटै होइन। हेर्नुहोस्: बप्तिस्मा र भरपूरी

२) के एउटा व्यक्ति पहिले प्रभु येशूलाई विश्वास गर्यो र पछि विश्वासबाट पछि हट्‍यो भने के उसको लागि पवित्र आत्मा मागिदिनुपर्छ?

वर्तमान मण्डली युगमा साँचो विश्वासीलाई पवित्र आत्माले कहिल्यै छोड्नुहुन्न (एफेसी १:१३-१४; ४:३०) यद्यपि पुरानो नियमको विश्वासीलाई छोड्न सक्नुहुन्थ्यो (भजनसङ्ग्रह ५१:११)।

३) के हामीले प्रार्थनामा पवित्र आत्मालाई माग्नुपर्छ?

पेन्टेकोस्टको दिनदेखि यता (मण्डली युगमा) त्यसो गर्नुपर्दैन किनभने प्रभु येशू महिमित भइसक्नुभएको छ र अहिले विश्वास गरेकै घडी पवित्र आत्मा दिइन्छ (यूहन्ना ७:३९)। पेन्टेकोस्ट अघि चाहिँ माग्नलाई सिकाइएको थियो (लूका ११:१३)

४) एउटा व्यक्तिले प्रभु येशूलाई चिनेर पनि नराम्रो काम गर्छ भने के पवित्र आत्माले छोड्नुभएकोले नै नराम्रो काम गरेको हो?

होइन; त्यो त विश्वासीले पवित्र आत्माको नियन्त्रणमा नहिँडेकोले हो (गलाती ५:१६)। फलस्वरूप पवित्र आत्मा शोकित बन्नुहुन्छ तैपनि उसलाई छोडेर जानुहुन्न बरु उसलाई पवित्र आत्माले छुटकाराको दिनसम्म छाप लगाउनुभएको छ (एफेसी ४:३०)। छुटकाराको दिनको माने विश्वासीले महिमित शरीर पाउने दिन हो (रोमी ८:२३) अर्थात् र्‍याप्चरको दिन जब मरेका विश्वासीहरू बौरेर उठ्छन् र जीवित रहिरहेकाहरू बदली गराइनेछन् (१ कोरिन्थी १५:५२; १ थेस्सलोनिकी ४:१४-१६)

तर अर्को सम्भावना भनेको उक्त “विश्वासी” ले कहिल्यै नयाँ जन्म (यूहन्ना ३:३; तीतस ३:५) नपाएको हुन सक्छ। ऊ साँचो विश्वासी नहुन सक्छ। वर्तमान “इसाई जगत” मा धेरैजनाको अवस्था नामधारीको अवस्था हो भन्ने मलाई डर लाग्दछ। निम्न पृष्ठहरू अध्ययन गर्नुहोस्:

५) पवित्र आत्माको भरपूरीको लागि के गर्नुपर्छ?

आत्माले भरपूर हुनुको माने पहिला बुझौं। एफेसी ५:१८ अनुसार आत्माले भरपूर हुनु पवित्र आत्मा परमेश्वरको नियन्त्रणमा जिउनु भन्ने हो। रक्सीले मानिसलाई नकारात्मक रूपमा नियन्त्रण गर्छ तर पवित्र आत्माले सकारात्मक र ईश्वरीय रूपमा। आत्माले भरपूर हुन एउटा विश्वासीले सबै थाह भएका पाप स्वीकार गरेको हुनुपर्छ (१ यूहन्ना १:९) नत्र त उहाँलाई शोकित पारिन्छ (एफेसी ४:३०)। भरपूर हुन परमेश्वरमा पूरै भर पर्नुपर्छ, शरीरमा होइन (“आत्मामा हिँड” अर्थात् उहाँमाथि भरोसा गर्दै जीवन बिताऊ, गलाती ५:१६) र परमेश्वरलाई हाम्रो जीवनमा र जीवनद्वारा काम गर्नलाई रोकटोकबिना (“आत्मालाई ननिभाओ”, १ थेस्सलोनिकी ५:१९) आफूलाई पूरै उहाँमा सुम्पनुपर्छ।

६) किन कोही व्यक्तिहरू स्तुति-प्रशंसामा ढल्छन्? कोही व्यक्तिहरू सभामा किन ढल्छन्? के यो ढल्नु बाइबलीय हो?

कतिपय मानिसहरू शारीरिक तथा मानसिक (psycho-somatic) प्रतिकृयाको कारण ढलेका हुन सक्छन्; कोही देखावटी रूपमा हुन सक्छन्। त्यहाँ अरू कारण पनि हुन सक्छन् किनकि दुष्ट आत्माद्वारा ढलिने कुरा पनि छ, तर ढल्ने काम कदापि बाइबलीय होइन किनभने प्रेरितहरूले त्यस्तो कहिल्यै सिकाएनन् र प्रभु येशूले ढलाउने काम गर्नुभएन (गेत्समनीमा त उहाँका शत्रुहरू चाहिँ ढले — विश्वासीहरू ढलेनन् — यूहन्ना १८:६ तर त्यो घटना समेत कथित “स्तुति-प्रशंसा” को घडीमा भएको थिएन।)

७) कोहीकोही प्रचारकहरूले यो पनि भन्छन् पवित्र आत्माको शक्ति पाउनलाई विश्वासीले पवित्र आत्मालाई आफ्‍नो जीवनमा निम्तो दिनुपर्छ र बोलाउनुपर्छ। के यो सत्य हो?

होइन, किनभने विश्वासीले पवित्र आत्मा मुक्ति पाएकै घडी प्राप्‍त गरिसकेको हुन्छ। आफ्‍नो जीवनमा उहाँको सामर्थ्य सिद्ध हुन दिनलाई विश्वासीले आफूलाई पलपलमा उहाँको अधीनतामा सुम्पँदै हिँड्नुपर्छ (एफेसी ४:३०, गलाती ५:१६, एफेसी ५:१८, १ थेस्सलोनिकी ५:१९) — हेर्नुहोस्: के तपाईंले पवित्र आत्मा पाउनुभयो, आदि प्रश्नोत्तर

“जसले एकाबिहानै उठेर चर्को सोरले आफ्नो साथीलाई आशीर्वाद दिन्छ, यो त्यसका निम्ति श्राप गनिनेछ” (हितोपदेश २७:१४)।

 “जसले एकाबिहानै उठेर चर्को सोरले आफ्नो साथीलाई आशीर्वाद दिन्छ, यो त्यसका निम्ति श्राप गनिनेछ” (हितोपदेश २७:१४)।

त्यसोभए के आफ्नो साथीलाई आशीर्वाद दिनु पाप हो? हाम्रा प्रभुले खुलेआम आफ्ना मित्रहरूको प्रेमलाई स्वीकार गर्नुभयो (लूका १२:२८)। तरैपनि चर्को स्वरले र अत्यधिक प्रशंसाले त्यसको आफ्नै इमानदारीतामाथि प्रश्‍न उब्जाउँछ। जब मान्छेले बोक्रे बोली र बढाइचढाइको भाषा प्रयोग गरी सत्यता र शिष्टताको सीमा नाघ्छ, त्यहाँ केही न केही खराब अभिप्राय लुकेको हुनुपर्छ भन्ने हामीलाई शङ्का लाग्छ (हितोपदेश २६:२३-२५)। साँचो मित्रतालाई त्यस्तो किसिमको आश्वासन आवश्यक पर्दैन। प्रेमले गरिएको एउटै कार्य अनेकौं चर्को आशीर्वादहरूभन्दा उत्तम हुन्छ। ‘कोही बुद्धिमान् छ भने उसले हजारौं मीठा बोलीभन्दा एउटा प्रतिज्ञा रोज्नेछ, र दस हजार प्रतिज्ञाभन्दा एउटा कार्य सम्पादन रोज्नेछ। किनकि अलिकति सास खर्च गर्नु कत्रो कुरा हो र, एकजनाले आफ्नो वचन दिनु कत्रो कुरा हो र, जसले त्यसबाहेक अरू केही दिने आशय राखेको छैन?’ उसलाई अर्कोले उछिन्ला भनेर वा यो ठूलो काम पूरा गर्न समय नपुग्ला भनेर, ऊ एकाबिहानै उठ्न सक्छ; र उच्चाट लाग्नेगरी उही कुरा बराबर दोहर्‍याइरे तापनि उसले मलाई मनमनै दिनभरि दोष्याइरहेको हुन सक्छ। परमेश्वरको सेवामा दाऊद एकाबिहानै उठेका कुरा (भजनसङ्ग्रह ५:३; ११९:१४७) लाई आफ्ना मित्रहरूलाई देखावटी आशीर्वाद दिन उसको छोरा एकाबिहानै उठेको कुरा (२ शमूएल १५:२-७) सित तुलना गर्नुहोस्। पावल प्रेरित यस्तो अत्यधिक प्रशंसालाई सहन सक्दैनथे (२ कोरिन्थी १२:६ लाई रोमी १२:३ सित दाँज्नुहोस्)। वास्तवमा हरेक विवेकी मानिसले बरु यसलाई आफ्नो निम्ति श्रापको रूपमा देख्‍नु जरूरी छ। नत्रभने यस्तो बढ्ता चाप्लुसीले उत्साहित हुनुले ऊसँग एउटा मूर्खको गुण छ भनेर देखाउनेछ। अनि त्यो भ्रमात्मक आशीर्वाद एउटा डरलाग्दो श्रापमाअन्त हुनेछ (२ शमूएल १६:१६-१९; १७:७-१३; प्रेरित १२:२२-२३)।

हाम्रो मित्रप्रतिको नियम यस्तो होस् — “वचनले मात्र होइन, जिब्रोले मात्र पनि होइन, तर कामले र सत्यताले प्रेम गरौं” (१ यूहन्ना ३:१८)। हाम्रो आफ्नै निम्ति नियम यस्तो होस् — “परमेश्वरको सामु हिँड”, मान्छेको सामु होइन (उत्पत्ति १७:१)। साँसारिक कुराहरू, सांसारिक मानिसहरू तपाईंको नजरमा सानो ठानियोस्। चाँडै मानिसको दिन बितेर जानेछ (१ कोरिन्थी ४:३)। अनन्तता त्यसको सारा खँदिलोपन र महिमासहित नजिकै छ।

साभार: Charles Bridges (1794-1869) ले सन् १८६४ मा प्रकाशन गर्नुभएको Proverbs शीर्षक गरेको उहाँको उत्कृष्ट टिप्पणीबाट हामीले उपर्युक्त लेखलाई नेपालीमा अनुवाद गरी यहाँ समावेश गरेका हौं।

यस प्रश्नको महत्त्व

 

यस प्रश्नको महत्त्व

आदम र हव्वाबाट जन्मेका पहिलो व्यक्ति कैन थिए। उनकी पत्‍नी इतिहासकै बहुचर्चित स्त्री बनेकी छन्।1

कैनकी पत्नी को वा कहाँकी थिई भनेर बाइबलले बताउँदैन। अन्य तथ्यहरूकै आधारमा यसको जवाफ पत्ता लगाउनुपर्ने हुन्छ। तर “कैनकी पत्नी को थिई?” भनेर कसैले प्रश्न गर्दा कतिपय इसाईहरू यसको जवाफ दिन हिच्किचाउँछन्। सम्भवतः यसको पछाडि निम्न दुई कारण छन्:

१) “कैनले आफ्ना बाबु-आमा (आदम-हव्वा) बाट जन्मेका एउटी बहिनीलाई विवाह गरे” भनेर जवाफ दिइयो भने, “कहाँ हुन्थ्यो र? हाडनाता साइनु पर्नेलाई पनि विवाह गर्न हुन्छ र? बाइबलले समेत लेवी १८ मा नजिकको साइनु पर्नेलाई विवाह गर्न मनाही गरेको छ नि” भन्ने प्रत्युत्तर आउला2। अथवा,

२) “कैनले आदम-हव्वाबाट जन्मेका नभई छुट्टै मानव जातिमध्येबाट कुनै एउटी स्त्रीलाई विवाह गरे” भनेर जवाफ दिइयो भने, “कहाँ हुन्थ्यो र? आदम-हव्वा बाहेक परमेश्वरले अन्य कुनै मानव जातिलाई सृष्टि गर्नुभएको कुरा बाइबलमै छैन नि” भन्ने प्रत्युत्तर आउला।

यी दुइटाबाहेक अन्य वैकल्पिक जवाफ देखिन्नन्। तर माथि उल्लेख गरिएझैं दुइटै जवाफ समस्याग्रस्त भएझैं देखिन्छन्। त्यसैले कतिले बाइबलको सृष्टिको बयान त्रुटीपूर्ण भएको दाबी गर्छन्। उनीहरू भन्छन्, “हेर्नुहोस्, बाइबलका कुरा आपसमा जुधेका छन्। आदम-हव्वाबाट जन्मेका बाहेक अरू मानव जाति त्यहाँ पहिलेदेखि नभएका भए, कैनले कहाँबाट पत्नी ल्याउन सक्थे र? आफ्नै बहिनीलाई विवाह गर्ने कुरा त बाइबल आफैले मनाही गर्छ। त्यसैले आदम र हव्वा सबै मानिसका पूर्खा हुन् भनेर बाइबलमा बताइएको मानिसको सृष्टिको विवरण सत्य हुन सक्दैन।”

यसरी बाइबल परमेश्वरको सत्य वचन हो भन्ने कुरालाई यसले एक प्रकारको चुनौती दिएकोले कैनकी पत्नी इतिहासमा प्रख्यात बनेकी हुन्।

येशू ख्रीष्टको गवाही

तर बाइबलका कुरा आपसमा कहिल्यै जुध्दैनन्। जुधे भने ती हाम्रै बुझाइमा मात्र जुध्छन्। बाइबलमा त्रुटी हुन सक्दैन। हाम्रो बुझाइमा भने त्रुटी हुन सक्छ। बाइबल सम्बन्धी प्रभु येशू ख्रीष्टको गवाही स्पष्ट छ,

“म तिमीहरूलाई साँचो भन्दछु, जबसम्म आकाश र पृथ्वी बितिजाँदैनन्, तबसम्म व्यवस्था [बाइबल] बाट एक मात्रा अथवा एक विन्दु पनि, सबै पूरा नभइन्जेल, कुनै रीतिले बित्नेछैन” (मत्ती ५:१८)।

“पवित्रशास्त्र [बाइबल] भङ्ग हुन सक्दैन” (यूहन्ना १०:३५)।

परमेश्वरका सन्तानका लागि प्रभु येशूको भनाइ यथेष्ट हुन्छ किनकि बाइबल पूर्ण रूपमा विश्वासयोग्य छ कि छैन भन्ने बारेमा प्रभु येशूलाई भन्दा अरू कसलाई बढी राम्ररी थाहा हुन सक्छ र? बाइबलमा उल्लेखित सृष्टिको विवरण अक्षरशः सत्य भएको उहाँले बताउनुभयो,

“के तिमीहरूले [बाइबकको उत्पत्तिको पुस्तकमा] पढेका छैनौ? [सृष्टिको]शुरुमा जसले तिनीहरूलाई नर र नारी [आदम र हव्वा] बनाउनुभयो…” (मत्ती १९:४)

त्यसो भए कुनचाहिँ जवाफ ठीक हो?

छोटकरीमा भन्ने हो भने, कैनले आफ्नी कुनै एउटी बहिनी (वा भतिजी) लाई विवाह गरे भन्ने जवाफ सही हो (उनका बहिनीहरूको उल्लेख उत्पत्ति ५:४ मा गरिएको छ)। माथि उल्लेखित दोस्रो विकल्प किन साँचो हुन सक्दैन भन्ने प्रश्नको जवाफ यस प्रकार छ।

सबै जातिहरू एउटै रगतबाट

१) परमेश्वरले आदमलाई सृष्टि गर्नुहुँदा त्यहाँ अरू मानिस थिएनन्। उनी एकलो थिए (उत्पत्ति २:१८)। परमेश्वरले पशु-पंक्षीलाई सृष्टि गरिसक्नुभएको थियो, तर आदमको लागि सुहाउँदो सहयोगी (अर्को मानिस) थिएन। त्यसैकारण परमेश्वरले उसलाई मस्त निद्रामा पार्नुभई उसको करङ्ग झिक्नुभई त्यसबाट हव्वालाई उसको पत्नी हुनलाई बनाउनुभएको थियो (उत्पत्ति २:२०-२३)। आदमबाहेक अन्य छुट्टै मानव जाति परमेश्वरले सृष्टि गर्नुभएको भए यसो गर्नु आवश्यक पर्दैनथ्यो।

२) हव्वालाई “सबै जीवितहरूको आमा” (उत्पत्ति ३:२०) भनेर जनाइएकोबाट आदम-हव्वाबाट जन्मेका बाहेक अन्य मानिस जाति छैनन् भन्ने पुष्टि हुन्छ।

३) प्रेरित १७:२६ — “अनि उहाँले सारा पृथ्वीमाथि वास गर्नालाई एउटै रगतबाट मानिसहरूका सबै जातिहरूलाई बनाउनुभयो।” आदमबाटै सबैजना (हव्वा समेत) नआएका भए सबै मानिस “एउटै रगतबाट” बनाइएको भन्न मिल्दैनथ्यो।

४) कैन कोसित डराएका: कैनले आफ्ना भाइ हाबिलको हत्या गरेकाले परमेश्वरले उनलाई उनी बसोबास गरिरहेको भूमिबाट निष्कासन गर्नुभयो। त्यसबेला उनले “म पृथ्वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ” (उत्पत्ति ४:१४) भनेका थिए। यस कुरालाई कसै-कसैले आदम वंश बाहेक त्यहाँ अन्य मानव जाति पनि थिए कुराको प्रमाणस्वरूप लिने गर्छन्। तर यसलाई त्यही अर्थ लगाउनु पर्दैन। उसलाई मार्ला भनेर कैन कोसित डराउनुपर्थ्यो त? उसलाई मार्न चाहने व्यक्तिहरू त्यहाँ थिए भने ती व्यक्तिहरू हाबिलको हत्याको बदला लिन चाहनेहरू नै हुनुपर्छ। सन्दर्भले योबाहेक अन्य विकल्पको सङ्केत दिँदैन। हाबिलको हत्याको बदला लिन चाहनेहरू को हुन सक्थे त? हाबिलकै नातेदारहरू नै अर्थात् आदम वंशकै सन्तान। यसकारण उत्पत्ति ४:१४ बेग्लै मानव जातिको अस्तित्वको खास प्रमाण होइन।

५) नोद भन्ने देश: परमेश्वरले उसलाई निष्कासन गर्नुभएपछि “कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे” (उत्पत्ति ४:१६) भनेर उल्लेख छ। यस कुरालाई पनि कसै-कसैले उक्त “नोद भन्ने देशमा” आदम वंश बाहेकका अन्य मानव जाति थिए र कैनकी पत्‍नी नोदकै हुनुपर्छ भन्ने ठान्ने गर्छन्। तर नोदचाहिँ मानिसहरू बसोबास गरिरहेको प्रान्त थियो भनेर अर्थ लगाउनु पर्दैन भन्ने निम्न आधारहरू छन्: (१) “नोद” को अर्थ “घुम्नु वा डुल्नु” हो र हिब्रूमा यो शब्दको रूप उत्पत्ति ४:१२,१४ को “डुलुवा” (हिब्रुमा “नाद”) भन्ने शब्दसँग झण्डै दुरुस्तै मिल्छ। (२) “देश” भनेर रुपान्तरण गरिएको हिब्रू शब्द (“आरेत्स्”) लाई मानिसहरू बसोबास गरेको भूमि भन्ने अर्थमा बाहेक “पृथ्वी” (उत्पत्ति १:१, व्यवस्था ३२:२२), “जग्गा” (उत्पत्ति २३:१५) “ठाउँ” (लेवी १६:२२) भनेर पनि रूपान्तरण गरिएको छ। (३) त्यसैले उत्पत्ति ४:१४ लाई यसरी अनुवाद गर्न सकिन्छ, “तब कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टिको ठाउँमा डुलेर (यताउता घुम्दै) बसे।” जेम्स एन योङ्ग (James N. Young) को अनुवाद (Young’s Literal Translation) र एडम क्लार्क (Adam Clarke) को टिप्पणीले यस रूपान्तरणलाई समर्थन गरेको छ। साथै यस वैकल्पिक रूपान्तरणले “तँ पृथ्वी (“आरेत्स्”) मा एक विनाचैनको डुलुवा (“नाद”) हुनेछस्” (उत्पत्ति ४:१२) भन्ने श्राप पूरा भएको पनि देखाउँछ।

६) आदम वंशका बाहेक त्यहाँ अन्य मानव जाति हुँदो हो त उनीहरूलाई ख्रीष्टको मृत्यु र बौरिउठाइमा विश्वास गरी पापहरूको क्षमा पाउन सुसमाचारको निम्तो दिन मिल्दैनथ्यो, किनकि नयाँ नियमको सुस्पष्ट गवाहीअनुसार प्रभु येशू ख्रीष्ट केवल आदम वंशका मानिसहरूको पापको लागि मर्नुभएको हो (१ कोरिन्थी १५:३,२२; रोमी ५:१२-२१)। अनि प्रभु येशूले “सारा संसारमा जाओ, र हरेक प्राणी [मानिस] लाई सुसमाचार प्रचार गर” (मर्कूस १६:१५) भनी आज्ञा गर्नुभएकोबाट संसारका सबै मानिसहरू आदमकै सन्तान हुन् भन्ने कुरा पुष्टि हुन्छ।

विवाह गर्न हुने कि नहुने?

कैनकी पत्नी उनकी एउटी बहिनी नै हुनुपर्छ भन्ने बाहेक अन्य विकल्प नरहेको कुरा माथिबाट पुष्टि भइसक्यो। बास्तवमा कैनले मात्र होइन, आदम-हव्वाका अरू छोराछोरीहरूले समेत आपसमा विवाह गरेको हुनुपर्छ। “फल्दै-फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ” (उत्पत्ति १:२८) भन्ने परमेश्वरको आज्ञा आदम र हव्वामा मात्र सीमित रहेको भए, ती दुई लगायत तिनका छोराछोरीहरूको मृत्यु भएपछि मानव जातिकै अन्त हुनेथ्यो!

साथै, उत्पत्ति ६-९ मा उल्लेखित विश्वव्यापी जलप्रलयको अन्तमा पनि झण्डै-झण्डै शुरुको जस्तै परिस्थिति हुन आएको पाइन्छ। उक्त जलप्रलयमा नूह र उनकी पत्नी र तिनका तीन छोरा तथा तीन बुहारी गरी आठ जना बाहेक पृथ्वीमा अरू मानिस बाँचेनन् (२ पत्रुस ३:२०)। परमेश्वरले अब नूह र तिनका छोराहरूलाई आशिष दिएर “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ” (उत्पत्ति ९:१) भन्नुभयो। यदि नूहका नाती तथा नातीनीहरूले एक-अर्कालाई विवाह नगरेका भए मानव जातिको उहिले नै अन्त भइसक्थ्यो।

तसर्थ, उत्पत्ति १:२८ र उत्पत्ति ९:१ मा पाइने परमेश्वरकै वचनको आधारमा हामी एउटा निष्कर्षमा आइपुग्छौं: मानव इतिहासको प्रारम्भमा र साथै जलप्रलयको समयसम्ममा पनि हाडनाता वा नजिकको साइनु पर्नेलाई विवाह गर्न परमेश्वरले निषेध गर्नुभएको थिएन। बरु त्यसलाई पूर्णरूपमा मान्यता दिनुभएको थियो। शुरु-शुरुमा परिस्थितिवश नजिककै नाताहरूको बीच विवाह हुनु स्वभाविक थियो पनि, अन्य विकल्प पनि त थिएन। समय बित्दै जाँदा टाढा नातामा विवाह हुने परिस्थिति सृजना हुँदै गयो।

साथै, बाइबलीय इतिहासबाट यो पनि पुष्टि हुन्छ, अब्राहामको समय (लगभग ई.पू. २१००) सम्ममा पनि नजिकको साइनुसित विवाह गर्न मिल्दथ्यो। अब्राहामकी पत्नी सारा उनका पिताकी छुट्टै पत्नीबाट जन्मेकी छोरी थिई (उत्पत्ति २१:१२)। उक्त वैवाहिक सम्बन्ध गलत थियो भनेर कतै उल्लेख छैन बरु यस दम्पत्तिमाथि परमेश्वरको विशेष आशिष रहेको कुरा घरिघरि उल्लेख छ।

मोशाको समय (लगभग ई.पू. १५००) मा आएर मात्र परमेश्वरले वैवाहिक सम्बन्धहरूमा प्रतिबन्धहरू तोक्नुभयो। इस्राएललाई दिइएको व्यवस्थामा नजिकको साइनु पर्नेसित विवाह गर्न निषेध गरिएको छ (लेवी १८:६-१८):

“तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको साइनु पर्नेसित सहवास नगरोस्। म परमप्रभु हुँ” (लेवी १८:६)।

प्रश्न उठ्छ, जसलाई पहिला विवाह गर्न हुन्थ्यो, पछिबाट किन नहुने भएको? परमेश्वरले शुरूमा प्रतिबन्ध नलगाउनुभएको कुरालाई उहाँले पछिबाट किन प्रतिबन्ध लगाउनुभएको?

मोशाको व्यवस्था दिइनुअघि नातेदार बीचको विवाह किन स्वीकारयोग्य थियो भन्ने कुराको जवाफ वेन ज्याक्सनले यसरी दिएका छन्:

मानव जातिको इतिहासको प्रारम्भिक चरणहरूमा नातेदार बीचको “विवाह” लाई अनैतिक मानिदैनथ्यो। त्यो त परिस्थितिवश आवश्यक नै थियो। आदम र हव्वाका छोराछोरीले नातेदार बीच नै विवाह गरेको हुनुपर्छ किनकि त्यस प्रथम जोडीबाट जन्मेकाहरू बाहेक पृथ्वीमा अन्य कोही मानिस नै थिएनन्।

(१) … [मोशाभन्दा अघिको समयमा] कति पारिवारिक विवाहहरू सम्पन्न भएका छन् जसलाई परमप्रभुले दोष्याउनुभएको छैन जब की तिनलाई पछि व्यवस्थाको समयावधिमा आएर निषेध गर्नुभएको छ।

(२) यसै सिलसिलामा अर्को तथ्य पनि बुझ्न आवश्यक छ। मानव परिवारको शुरू-शुरूमा, अर्थात्  जुन बेला पाप, रोग-बिमार र आनुवंशिक विरुपाङ्गताको समस्या पछिजस्तै अत्यधिक रूपमा वृद्धि भएर घातक बनिसकेको थिएन, आदमका सन्तानहरू शारीरिक रूपमा आजका भन्दा ज्यादै नै तगडा थिए। फलस्वरूप परिवारभित्र गरिएका विवाहहरूले सन्ततिमा आधुनिक युगमा जस्तै गरी नकारात्मक नतीजा ल्याउने गर्दैनथ्यो। आदम आफै पनि ९३० वर्षको उमेरसम्म बाँचे, तर अब्राहामको समयमा आइपुग्दा १७५ वर्षको उमेरलाई “दीर्घायु” अर्थात् “पूरा बूढेसकाल” को उमेर मानिएको छ (उत्पत्ति २५:७-८); अन्तरालमा मानिसको औसत आयु करिब ८० वर्षको उमेरमा पुग्यो (भजनसङ्ग्रह ९०:१०)।”3

आनुवंशिक बिरुपाङ्गताको सामान्य ज्ञान

आज प्रायः सबै मानव समाजहरूमा नजिकको साइनु पर्नेसित विवाह गर्न बन्देज छ। विवाह जति नजिकको साइनु पर्नेसित हुन्छ त्यसबाट जन्मेका सन्तानमा शारीरिक बिरुपाङ्गता देखा पर्ने त्यति नै बढी सम्भावना हुन्छ भन्ने कुरा आज सर्वविदितै छ। उद्दरण गर्न सकिने थुप्रै स्रोतमध्ये इन्साइक्लोपिडिया ब्रिटानिकालाई लिऊँ,

“Highly inbred populations have diminished reproductive success and become gene pools for hereditary disorders.”(“अत्यधिक अन्तरविवाह हुने जनसमुदायमा प्रजनन क्षमताको ह्रास र आनुवंशिक अनियमितता प्रसारण गर्ने वंशानुको वृद्धि भएको पाइन्छ।”)

वास्तवमा शताब्दियौं देखि नै नजिकको विवाह र आनुवंशिक अनियमितताका बीच प्रत्यक्ष सम्बन्ध रहेको देखेर नै बाइबलको ज्ञान नभएका समाजहरूमा समेत वैवाहिक बन्देजका नियमहरू मानिसहरूले खडा गरेको हुनुपर्छ भन्ने निष्कर्ष सजिलै निकाल्न सकिन्छ।

बोट-विरुवा वा पशु प्राणीहरूमा सप्रेका वा नसप्रेका जातिको सवालमा आपसमा गरिने प्रजनन क्रियाबाट उत्पन्न हुने सन्ततिको अध्ययनबाट पनि वंशानु विज्ञानको यो सिद्धान्त बुझ्न सकिन्छ।

निष्कर्ष

आदमले पाप गरेपछि परमेश्वरले उसलाई “तँ माटै होस् र माटैमा फर्किजानेछस्” (उत्पत्ति ३:१९) भन्नुभयो। तसर्थ आदमको पापकै कारण मानव जातिमा शारीरिक मृत्यु आएको हो [यद्यपि यसभन्दा डरलाग्दो नतीजा दोस्रो मृत्यु हो जसबाट हामीलाई बचाउन परमेश्वरको पुत्र येशू ख्रीष्ट मर्नुभयो। यसबारे पढ्नुहोस्: ख्रीष्ट मर्नु किन खाँचो थियो?]। मानिसको भौतिक शरीर र उसको वातावरण समेत (उत्पत्ति ३:१७-१८, रोमी ८:२२) परमेश्वरको इन्साफमुनि परेकोले हामी भन्न सक्छौं यसकै कारण उसको वंशानुमा ह्रास आएको हो। साथै, शुरू-शुरूका मानव पुस्ताहरूमा पाइने थोरै-थोरै आनुवंशिक समस्याहरू पछिल्ला पुस्ताहरूमा वृद्धि हुँदै धेरै हुन थाले। जसको कारण शुरु-शुरुका पुस्ताहरूमा हाडनाता बीचको विवाहले नकारात्मक असर नल्याए तापनि पछिबाट त्यस्तो विवाहले सन्तानमा आनुवंशिक विरुपाङ्गता प्रसारण हुन सक्ने सम्भावना बढाइदियो। यसरी कैनको समयमा उसले आफ्नै बहिनीलाई वा नजिकको नातालाई विवाह गर्नु (परिस्थितिवश आवश्यक हुनु बाहेक) स्वीकारयोग्य थियो तर कालान्तरमा व्यवस्था दिइने समयमा, मानिसकै भलाइका लागि, निषेध गरियो।

कैनकी पत्नी को थिई भन्ने प्रश्नलाई बाइबल, सामान्य ज्ञान तथा वैज्ञानिक दृष्टिकोणबाट अध्ययन गरिँदा उत्पत्तिको पुस्तकको कुनै पनि विवरणमा त्रुटी भेट्टाउन सकिन्न बरु यसले बाइबल परमेश्वरकै वचन हो र यो सत्य र विश्वासयोग्य छ भन्ने तथ्यलाई झनै प्रकाशमा ल्याउँदछ।

[यस लेख पूरा गर्नलाई Answers in Genesis का केन ह्याम (Ken Ham) द्वारा लिखित Cain’s Wife: Who Was She? बाट मिलेको ठूलो मद्दतको निम्ति म आभारी छु। ]

1. Ham, Ken. Cain’s Wife: Who Was She?

2. Custance, Arthur. Cain’s Wife and the Penalty of Incest.

3. Jackson, Wayne. Does the Bible Conflict with Itself in the Matter of “Incest”?

4. “Incest.” Encyclopædia Britannica. Ultimate Reference Suite.  Chicago: Encyclopædia Britannica, 2008.

१) एफेसी ४:११ अनुसार ५ ओटा वरदानहरूको कुरा गरिएको छ। के यी सबै ५ ओटा वरदानहरू अहिले मण्डलीमा पाइन्छन्? ५ ओटा वरदानहरूको चिन्ह र लक्षण के हो? यी ५ ओटा वरदानहरूको चरित्र के हो? यी सबैको लामो बयान गरिदिनुहोला।

 १) एफेसी ४:११ अनुसार ५ ओटा वरदानहरूको कुरा गरिएको छ। के यी सबै ५ ओटा वरदानहरू अहिले मण्डली  मा पाइन्छन्? ५ ओटा वरदानहरूको चिन्ह र लक्षण के हो? यी ५ ओटा वरदानहरूको चरित्र के हो? यी सबैको लामो बयान गरिदिनुहोला।

एफेसी ४:११ मा उल्लेखित प्रचारक, गोठाला र शिक्षकका वरदानहरू त वर्तमानमा पनि दिइन्छन् भन्ने कुरा निर्विवाद छ। तर प्रेरित र भविष्यवक्ताको वरदान वर्तमान समयमा दिइन्छन् कि दिइँदैनन् भन्ने कुरामा मतभिन्नताहरू छन्। प्रेरित र भविष्यवक्ताको वरदान अस्थायी वरदानहरू थिए र वर्तमान समयमा दिइँदैनन् भन्ने कुराको चर्चा गरिएको हाम्रो निम्न पृष्ठमा पढ्नुहोला:
https://www.wordoftruth.com.np/charismatic-error-01-04

प्रेरितका लक्षणहरू २ कोरिन्थी १२:१२ मा उल्लेख गरिएका छन् (साथै १ कोरिन्थी ९:१ पनि पढ्नुहोस्)। भविष्यवक्ताको वरदानको बारेमा माथिको लिङ्कमा लामो चर्चा गरिएको छ। प्रचारक, सुसमाचार प्रचार गर्ने वरदान भएको व्यक्ति हो। जस्तै, फिलिप (प्रेरित २१:८) – यिनीचाहिँ प्रेरित फिलिपभन्दा बेग्लै व्यक्ति हुन्। प्रचारकको जिम्मेवारी हराएकाहरूलाई सुसमाचार (१ कोरिन्थी १५:३-४) को प्रचार गरी उनीहरूलाई ख्रीष्टमा खिँच्नु हो। उनी मछुवाजस्तै हुन्छन्।

गोठाला (पास्टर) हरू, परमेश्वरको बगाललाई वचन खुवाउने र रक्षा गर्ने बगालको नमुना व्यक्तिहरू हुन्। जस्तै, तिमोथी (१ तिमोथी ४:१२-१६)। ऊसित शिक्षकको दान अनिवार्यरूपमा हुन्छ। किनकि एफेसी ४:११ मा “गोठाला र शिक्षक” एकै व्यक्तिलाई जनाउने बयान हो भनेर लिन सकिन्छ।

शिक्षकहरू: गोठाला प्रायः एउटै बगाल (स्थानीय मण्डली) मा बढी समय दिन्छ भने शिक्षकहरूको सिकाउने क्षेत्र अलि फराकिलो पनि हुन सक्छ। जस्तै, अपोल्लोस (प्रेरित १८:२२-२९) शिक्षकको वरदान भएर त्यसलाई आफ्‍नो जीवनमा विकास गरेको व्यक्तिले परमेश्वरको वचनको सत्यताहरू अरूहरूलाई स्पष्ट रूपमा सिकाउन सक्छ।

प्रेरित वरदान भएको व्यक्तिसँग प्रचारक, गोठाला र शिक्षकको पनि वरदानहरू हुन्थे भन्ने बुझ्दछु म (जस्तै, पावललाई विचार गर्नुहोस्)।

प्रेरितहरू पहिलो शताब्दीमा तबसम्म आवश्यक थिए जबसम्म मण्डलीसँग परमेश्वरको वचन पूर्णरूपमा थिएन। याद गर्नुहोस्, शुरुका विश्वासीहरूसित केवल पुरानो नियम मात्र थियो, नयाँ नियम त लेखिएकै थिएन। नयाँ नियम दिइनेवाला छ भन्ने कुराको भविष्यवाणी प्रभु येशूले गर्नुभएको थियो (हेर्नुहोस् यूहन्ना १६:१२-१५)। त्यस भविष्यवाणी अनुसार नयाँ नियमका २७ ओटा पुस्तकहरू क्रमिक रूपमा पवित्र आत्माले प्रेरितहरूद्वारा र नयाँ नियमकालीन भविष्यवक्ताहरूद्वारा दिनुभयो। त्यसैले मण्डलीलाई “प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बसालिएको” आत्मिक भवनको रूपमा चित्रण गरिएको पाइन्छ (एफेसी २:२० मा)। जग भनेको कुरा एक पटक मात्र बसालिन्छ, अर्थात् शुरुमा मात्र। यसैकारण प्रेरित र भविष्यवक्ताहरूको वरदान वर्तमान समयमा छैनन्। ती आवश्यक पनि छैनन्, किनकि हामीसँग “प्रेरितहरूका शिक्षा” (प्रेरित २:४२ सित दाँज्नुहोस्) र परमेश्वरले प्रकट गर्नुभएका सबै भविष्यवाणीहरू नयाँ नियमको २७ ओटा पुस्तकहरूमा छन्।

प्रेरितहरू १२ जना थिए जो प्रभु येशूको बप्‍तिस्मादेखि लिएर उहाँको स्वर्गारोहण भएको दिनसम्मका सबै कुराहरूको गवाही दिन सक्ने गरी उहाँकै साथसाथ हिँडेका व्यक्तिहरू। यहूदा इस्करयोतीको रिक्त स्थानमा अर्कोलाई नियुक्त गरिएको कुरा प्रेरित १:२०-२६ मा पढ्नुहोस्। यिनै बाह्रजनाको नाम नयाँ येरूशलेमको जगमा लेखिएको पाउनेछौं। त्यसबाहेक पावल एक छुट्टै विशेष प्रेरित थिए अर्थात् अन्यजातिहरूको लागि चुनिएका प्रेरित (रोमी ११:१३)।

२) परमेश्वरले मण्डलीलाई कुन कुन आत्मिक वरदानहरू अहिले दिनुहुन्छ?

वरदानका सूचीहरू उल्लेख भएका खण्डहरू रोमी १२, १ कोरिन्थी १२-१४ र एफेसी ४ अध्यायहरू हुन्। तिनमा उल्लेखित प्रेरितीय र चिन्हरूपी वरदानहरू र प्रकाशकीय वरदानहरूलाई छोडेर अन्य वरदानहरू चाहिँ अहिले पनि दिनुहुन्छ।

३) मर्कूस १६:१७-१८ पदलाई स्पष्ट पारिदिनुहोला।

यहाँ उल्लेखित वरदानहरू चिन्हरूपी वा प्रेरितीय छन् र तिनको उद्देश्य पूरा भइसकेका छन् जसरी प्रेरितको पुस्तकमा तिनको ऐतिहासिक अभिलेख गरिएको छ।

४) के परमेश्वरले अहिले पनि चङ्गाइको वरदान दिनुहुन्छ?

परमेश्वरले चङ्गाइ दिन सक्नुहुन्छ तर चङ्गाइको वरदान भने अहिले दिनुहुन्न। चङ्गाइको वरदान शुरुमा १२ जना प्रेरितहरूलाई दिइयो (मत्ती १०:१), पछि ७० जनालाई दिनुभयो (लूका १०:१,९)। पेन्टेकोस्टपछि प्रेरितहरूद्वारा उनीहरूका हातहरू राखेर प्रार्थना (प्रेरित ६:६) गरिएकाहरूलाई पनि दिइयो: १) स्तिफनसलाई (प्रेरित ६:८) र २) फिलिपलाई (प्रेरित ८:५-७)।

आज चङ्गाइ हुन्छ भने त्यो उहाँको इच्छामा, प्रार्थनाको जवाफस्वरूप औषधीको प्रयोगद्वारा वा औषधीबिना पनि हुन सक्छ। जसरी हरेक प्रार्थनाको जवाफमा परमेश्वरले “हुन्छ” नै त भन्नुहुन्न (जस्तै २ कोरिन्थी १२:८-९) तर “हुन्न” अथवा “पर्ख” पनि भन्न सक्नुहुन्छ। त्यसैले आज चङ्गाइ हुन सक्छ तर चङ्गाइ गर्ने वरदानचाहिँ आजको लागि होइन। यस बारेमा विस्तृत अध्ययनको लागि हेर्नुहोस् https://www.wordoftruth.com.np/charismatic-error-01-06

अर्को कुरा, दुष्टात्मा लागेको व्यक्तिको सवालमा भने उसले आफ्‍नो पापबाट मुक्ति पाउनलाई (चङ्गाइको लागि मात्र होइन) ख्रीष्टमाथि साँचो गरी विश्वास गरेको खण्डमा निजले अनिवार्य रूपमा नै र स्थायी रूपमा दुष्टात्माबाट छुटकारा पाउँदछ। किनकि विश्वास गरेको घडीबाट ऊ परमेश्वरको वासस्थान (१ कोरिन्थी ६:१९) बन्दछ र दुष्ट आत्मा परमेश्वरसँगै बास गर्न सक्दैन (लूका १२:२१-२३ लाई १ यूहन्ना ४:४ सित दाँज्नुहोस्)। साँचो गरी विश्वास नगरेको व्यक्तिको सवालमा भने कारणवश एक समय बिदा भएको दुष्टात्मा फेरि फर्केर आउन सक्दछ (लूका १२:२४-२६)।

५) कतिले भन्छन् नि दाई निको पार्ने वरदान पाएकोले प्रार्थना गर्यो भने मात्र निको हुन्छ।

कोही विरामी छ भने चङ्गाइको वरदान भएको व्यक्तिकहाँ जान हामीलाई सल्लाह नयाँ नियममा दिइएको छैन।

प्रेरितहरूको समयमा भने प्रेरितलाई बोलाउन सकिन्थ्यो र त्यसो गर्दा मरेका व्यक्ति पनि बौराइएको कुरा उल्लेख छ (प्रेरित ९:३६-४३)। तर अहिले प्रेरितहरू छैनन्। बरु बिरामी परेको अवस्थामा बिरामी आफैले मण्डलीका एल्डरहरूलाई आफूकहाँ प्रार्थना गर्न बोलाउनलाई अर्ती दिइएको चाहिँ छ (याकूब ५:१४)। अनि प्रार्थनाको सवालमा यसको जवाफ सधैं “हुन्छ” नै भन्ने हुँदैन (जस्तो पावलले तीनपटक प्रार्थना गरे तर उनी निको भएनन्)। प्रार्थनाको जवाफ परमेश्वरको सार्वभौम इच्छामा निर्भर रहन्छ (१ यूहन्ना ५:१४) र प्रार्थना गर्नेले आफ्‍नो माग जाहेर गर्दा सधैं “तरैपनि मेरो इच्छा होइन तपाईंकै इच्छा पूरा होस्” (लूका २२:४२) भन्नु आफूले परमेश्वरको सामु सही स्थान लिनु हो।

२३) के हरेक बिरामी चङ्गाइ हुनु परमेश्वरको इच्छा हो?

 


२३) के हरेक बिरामी चङ्गाइ हुनु परमेश्वरको इच्छा हो?

 

नयाँ नियममा बिरामी परेका चारओटा उदाहरणहरूलाई हेरौं:

१) २ कोरिन्थी १२:७-१०

पावल एउटा पीडादायी (“काँडा”) शारीरिक (“शरीरमा”) रोगले ग्रस्त थिए। शरीरमा रहेको उक्त काँडा आफूबाट हटोस् भनी पावलले प्रभुलाई तीन पटक विन्ती गरे तर परमेश्वरले सोअनुसार गर्नुभएन। परमेश्वरले यसभन्दा उत्तम कार्य गर्नुभयो। उहाँले पावललाई आफ्नो अनुग्रह प्रशस्त छ भन्ने कुरा सिकाउनुभयो, परमेश्वरको अनुग्रहले उनलाई त्यस्तो शारीरिक कष्ट समेत सहन सक्ने क्षमता दिन्छ भन्ने कुराको बोध गराउनुभयो। आफ्नो सर्व-पर्याप्‍त अनुग्रहको बोध गराउन कहिलेकाहीँ परमेश्वरले दुःख-बिमार वा पीडा आउन दिनुहुन्छ।

२) फिलिप्पी २:२५-३०

एपाफ्रोडीटस बेसरी बिरामी परे, यहाँसम्म कि उनी मृत्युको मुखैमा पुगे। उल्लेखनीय कुरा के भने पावलले आफ्नो यस विश्वासयोग्य भाइलाई चङ्गाइ गरेनन्। बरु परमेश्वरले उनीमाथि कृपा गर्नुभयो र उठाउनुभयो।

३) १ तिमोथी ५:२३

“अब उसो पानी मात्र पिउने नगर, तर तिम्रो पेटका लागि, साथै घरीघरी भइरहने तिम्रा बिमारीहरूका कारणले अलि-अलि दाखमद्य प्रयोग गर।” तिमोथीको पेटको कमजोरी थियो जसको कारण उनी बारम्बार बिरामी पर्ने गर्थे। पावलले उनलाई कुनै चङ्गाइकर्ताकहाँ जान सल्लाह दिएनन्, न ता उनलाई उनका शारीरिक कमजोरीहरू पाप वा विश्वासको कमीका कारण हुन् भने। पावलले केवल एउटा सामान्य औषधी उपचारको सल्लाह दिए। [पावलले तिमोथीलाई मात लाग्ने रक्सी नभएर अङ्गुरको रस पिउनलाई सल्लाह दिएको हुन सक्छ भन्ने यहाँ देखिन्छ। व्याकरणका विद्वान आथनेयस (Athenaeus, 280 AD) ले यसरी लेखेका छन्: “उसले गुलियो दाखरस लेओस्, पानीसँग मिसाएर वा गरम गराएर, विशेष गरी प्रोटोपोस भनिने खाले, त्यो गुलियो लेस्बियन गलुकस, पेटको लागि लाभदायक हुने भएकोले; किनकि गुलियो दाखरस [oinos] ले टाउकोलाई भारी बनाउँदैन” (Athenaeus, Banquet 2,24). प्राचीन लेखोटहरूमा पेटको समस्याहरूका लागि कण्वीकरण नभएको (unfermented) दाखरस प्रयोग गर्न सिफारिश गरिन्थ्यो भन्ने कुराको यो एउटा उदाहरण हो।]

४) २ तिमोथी ४:२०

“एरास्टस कोरिन्थमा रहे; तर ट्रोफिमसलाई मैले मिलेटसमा बिरामी अवस्थामा छोडेको छु।” ट्रोफिमसको आत्मिक समस्या (पाप, विश्वासको कमी) थियो भन्ने त्यहाँ कुनै सङ्केत छैन, तर उनको एउटा शारीरिक समस्या भने थियो, तर पावलले उनलाई चङ्गाइ गरेनन्। यस जीवनमा कहिलेकाहीँ आफ्ना सन्तानहरू बिरामी हुनु नै परमेश्वरको इच्छा हुन्छ, तर आउनेवाला जीवनमा भने कहिल्यै त्यसो हुन्न (प्रकाश २२:४)

विगतका कतिपय भक्तजनहरूलाई विचार गर्नुहोस् त, जोहरू रोगी थिए अथवा कुनै गम्भीर शारीरिक दुर्बलताले पीडित थिए। उदाहरणको लागि: जोन क्याल्भिन (John Calvin) वातरोगबाट ग्रस्त थिए, साथै उनलाई बेसरी टाउको दुख्‍ने समस्या थियो र उनको शरीर कमजोर थियो। फेनी क्रस्बी (Fanny Crosby) अन्धी थिइन्। रबर्ट मुरे मक्शेन (Robert Murray McCheyne) ज्यादै रोगी भएकाले ३० वर्षको उमेरमा मरे। जर्ज म्यूलर (George Müller) को विश्वास पक्कै पनि कमजोर थिएन, तर जीवनभर उनले शारीरिक दुर्बलताहरू र रोग-बिमारहरूको सामना गर्नुपर्‍यो। उनको टाउकोको समस्या थियो र एउटा सिपालु शल्य-चिकित्सकको हातबाट उनको शल्यक्रिया गरिनुपर्‍यो। भक्तिपूर्वक जिउने विगतका कुनै पनि विश्वासीको जीवनी पढ्नुहोस्, झण्डै प्रत्येककै सवालमा परमेश्वरले उनीहरूलाई कुनै निश्चित शारीरिक कष्टहरू भोग्न दिनुभएको पाउनुहुनेछ।

कतिपय क्यारिज्म्याटिक व्यक्तिहरूको धारणाअनुसार, यदि तपाईं बिरामी हुनुहुन्छ भने तपाईं परमेश्वरको इच्छाभन्दा बाहिर हुनुहुन्छ। उदाहरणका लागि, केनेथ हेगन जुनियर (Kenneth Hagan Jr.) लेख्‍छन्: “परमेश्वरको इच्छा नै आफ्ना सन्तानहरू पूर्ण स्वस्थतामा जिऊन् भन्ने हो भन्ने मेरो विश्वास हो…आफ्ना सन्तानहरूलाई चङ्गाइ गर्नु सधैं नै परमेश्वरको इच्छा हो।” [मलाई जुलाई १६, १९८७ मा केनेथ हेगनद्वारा लेखिएको पत्रबाट] यस्ता व्यक्तिहरूलाई केही प्रश्‍न गर्न हामीलाई कर लाग्छ: के तपाईंहरूमध्ये कसैकसैले चश्मा लगाउनुहुन्छ (केनेथ हेगनले त लगाउँछन्)? के तपाईंहरूमध्ये कसैकसैलाई रूघाखोखी लाग्ने गर्छ? के तपाईंहरूमध्ये कोहीले सिटामोल वा अन्य दुखाइ हटाउने ने ओषधी खाने गर्नुहुन्छ? सबभन्दा महत्त्वपूर्ण प्रश्‍न त, के तपाईंहरू मर्नुहुन्छ?

उदाहरणका लागि चङ्गाइकर्ता ओरल रबर्टस् (Oral Roberts) लाई विचार गरौं। उनले एक पटक आफ्नै खरबौं-डलरको सिटि अफ फेथ (City of Faith) अस्पताललाई छाडेर आफ्नो आँखाको शल्यक्रिया गराउन उनी क्यालिफर्निया गए। होइन, उनी किन एउटा चङ्गाइकर्ताकहाँ गएनन्, वा उनले किन आफैलाई चङ्गाइ गरेनन्? साथै, यदि विश्वासद्वाराको चङ्गाइ (faith healing) साँच्ची नै हुने हो भने खरबौं डलरको अस्पताल किन चाहियो? प्रभु येशू लगायत प्रेरितहरूले त सयौंलाई यस्ता कुनै अस्पताल बिना नै चङ्गाइ गरे।

२४) के नयाँ नियमले “सुख-समृद्धिको सुसमाचार” (PROSPERITY GOSPEL) को शिक्षा सिकाउँछ?

यो शिक्षा आज प्रायः सुनिने अति प्रचलित र आकर्षक सन्देश हो, अर्थात् यदि तपाईंले ख्रीष्टलाई विश्वास गर्नुभयो भने तपाईंलाई स्वस्थलाभ र सम्पत्तिलाभहुनेछ। यसको मतलब तपाईंलाई शारीरिक स्वस्थलाभ र भौतिक उन्नति हुनेछ। तपाईंको शरीर रोगबिमारबाट स्वतन्त्र हुनेछ र तपाईंको बैंक खाता भरिभराउ हुनेछ। तर वास्तवमा यस प्रकारको शिक्षाबाट साँच्चै आर्थिकलाभ उठाउनेहरू चाहिँ ती झूटा शिक्षकहरू मात्र हुन्छन्, अर्थात् “सुख-समृद्धिको सुसमाचार” का प्रचारकहरू।

स्वस्थलाभ र सम्पत्तिलाभको सुसमाचार

“जति सुनेपनि फरक पर्दैन — हामी स्वस्थ हुनु र हामीले यस जीवनमा असल-असल कुराहरू पाउनु परमेश्वरको इच्छा हो भन्ने कुरा हामीलाई बारम्बार सम्झना गराइन आवश्यक छ” (केनेथ हेगन)।

येशूको सेवाकार्य गरीब थियो भन्ने विश्वासको बारेमा केनेथ कोपल्याण्ड (Kenneth Copeland) यसो भन्छन्: “त्यो त हास्यास्पद कुरा हो। येशू गरीब हुनु असम्भव कुरा हो! पुरानो नियमको समयदेखि नै परमेश्वरले, उहाँको साथमा सिद्ध र सीधा चालमा चल्नेहरूलाई भौतिक आशिषहरूको प्रतिज्ञा गर्नुभयो। यदि परमेश्वरले येशूलाई आर्थिक आशिष दिन विफल हुनुभएको भए परमेश्वरले स्वयम् आफ्नै वचनलाई तोड्नुहुनेथ्यो” (करिज्मा, सेप्टेम्बर १९९०)।

ख्रीष्टमा भरोसा गर्नेहरूको आत्मिक उन्नति हुन्छ भन्ने कुरा साँचो हो। उनीहरू आत्मिकमा सफल हुन सक्छन् र आफ्नो प्राणमा स्वस्थलाभ पाउन सक्छन्। उनीहरूले ख्रीष्टमा पाइने हरेक आत्मिक आशिषको उपभोग गर्न सक्छन् (एफेसी १:३)। उनीहरू उहाँमा धनवान हुन सक्छन् (२ कोरिन्थी ८:९)। तर परमेश्वरले आफ्नो सन्तानहरूलाई यस जीवनमा हट्टाकट्टा शारीरिक स्वास्थ्य र भौतिक, आर्थिक उन्नतिको कहिल्यै प्रतिज्ञा गर्नुभएन।

वास्तवमा पूरै नयाँ नियमको शिक्षाअनुसार परमेश्वरका जनहरू त दुःख र कष्ट भोग्नेहरू हुनेछन्, काटिन लगिइरहेका भेडाहरूझैं हुनेछन् (रोमी ८:१८,३५-३६) भन्ने छ। उनीहरूले संसारबाट घृणा र सतावट पाउनेछन् (यूहन्ना १५:१८-२०)। संसारमा उनीहरूलाई संकष्ट र थिचोमिचो हुनेछ (यूहन्ना १६:३३)। ख्रीष्टमा भक्तिपूर्वक जिउने सबै नै सतावटमा पर्नेछन् (२ तिमोथी ३:१२) र प्रत्येक ख्रीष्टियनले ख्रीष्टको असल सिपाहीलेझैं दुःख उठाउनुपर्छ (२ तिमोथी २:३)। सुख-समृद्धिको सुसमाचारको विरुद्धमा सबभन्दा राम्ररी छोटकरीमा व्यक्त गरिएको पावलको जवाफ सायद १ थेस्सलोनिकी ३:३-४ नै हो —

“यी कष्टहरूद्वारा कोही पनि ढलपल नहोस् भनेर; किनकि तिमीहरू आफै जान्दछौ, हामी यसैका निम्ति ठहराइएका छौं। किनकि साँच्चै तिमीहरूसँग रहँदा, ‘हामीले कष्ट भोग्नुपर्छ’ भनी हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौं; र यस्तै भयो पनि, अनि तिमीहरूले पनि जान्दछौ।”

प्रेरित पत्रुस समृद्धिको सुसमाचारको बारेमा अनजान थिए जब उनले भने, “चाँदी र सुन त मसँग छैन” (प्रेरित ३:६)! पावल प्रेरित पनि यस शिक्षाको बारेमा अनजान थिए। उनले विश्वासीहरूलाई गरिबजस्ता र केहि नहुनेजस्ता भनी बयान गरेका छन् (२ कोरिन्थी ६:१०)!

२५) के डाक्टरकहाँ जानु अनात्मिक बन्नु हो?

संयुक्त राज्य अमेरिकाको इन्डियाना राज्यको एउटा विषम क्यारिज्म्याटिक समूह (“द ग्लोरी बार्न”) ले विश्वासीहरू कहिल्यै डाक्टरकहाँ जान हुन्न बरु चङ्गाइ पाउन परमेश्वरमा भरोसा राख्‍नुपर्छ भनेर सिकाए। बच्चा जन्माउने समयमा डाक्टर वा नर्सको मदत नपाएको हुनाले कोही गर्भवति महिलाहरूलाई साह्रो पर्‍यो र उनीहरूका बच्चाहरू मरे। समस्या अझ जटिल बन्यो जब यस समूहका सदस्यहरूले परमेश्वरसित यी मरेका बच्चाहरूका निम्ति प्रार्थना गर्न थाले। स्थानीय समाचार माध्यमले यी घटनाहरूलाई सार्वजनिक बनाइदिए। फलस्वरूप ख्रीष्टको नामलाई ठूलो शर्ममा पार्ने काम भयो। गलत शिक्षाको कारण गलत अभ्यास भएको थियो।

“तर येशूले त्यो सुनेर तिनीहरूलाई भन्नुभयो: “निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ” (मत्ती ९:१२)।

निरोगी र स्वस्थ व्यक्तिहरूलाई डाक्टर वा वैद्यको खाँचो पर्दैन। यसको तात्पर्य रोगीलाई डाक्टर चाहिन्छ नै भन्ने हो। भन्ने हो भने, सुसमाचारको एउटा पुस्तक समेत लेख्‍ने पावलका एक सहकर्मी एक डाक्टर थिए:

“प्रिय वैद्य लूका र डेमासले तिमीहरूलाई सलाम पठाउँदै छन्” (कलस्सी ४:१४)।

२६) के ख्रीष्ट र प्रेरितहरूले चङ्गाइ गर्न सक्थे?

प्रभु येशू ख्रीष्टले मानिसहरूका हरेक किसिमको बिमार र हरेक किसिमको रोगलाई निको पार्नुभयो:

“अनि येशू तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका सबै प्रकारको रोग र सबै किसिमको शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। अनि उहाँको कीर्ति सिरियाभरि फैलियो; र किसिम-किसिमका रोग र पीडाहरूले सताइएका सबै बिरामी मानिसहरूलाई, दुष्ट आत्मा लागेकाहरू, छारे रोग लागेकाहरू र पक्षघात भएकाहरूलाई तिनीहरूले उहाँकहाँ ल्याए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो” (मत्ती ३:२३-२४)।

प्रभुले आफ्ना चेलाहरू (प्रेरितहरू) लाई “हरेक रोग र हरेक शारीरिक दुर्बलता निको पार्ने अधिकार दिनुभयो” (मत्ती १०:१)।

प्रेरित पावलले गजब प्रकारले निको पार्ने काम गर्न सके:

“अनि परमेश्वरले पावलका हातद्वारा विशेष प्रकारका सामर्थ्यका कामहरू गर्नुभयो; यहाँसम्म कि उनको शरीरबाट रुमालहरू वा गम्छाहरू बिरामीहरूकहाँ लगिन्थे, र रोगहरूले तिनीहरूलाई छोड्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे” (प्रेरित १९:११-१२)।

२७) के आधुनिक “चङ्गाइकर्ताहरू” (Faith Healers) ले चङ्गाइ गर्न सक्छन्?

विलियम ए नोलेन (William A. Nolen) नाम गरेको एकजना नामुद डाक्टरले क्याथरिन कूलम्यान (Kathryn Kuhlman) नाम गरेकी एक चर्चित चङ्गाइकर्ताको अवलोकन गरे। शुरूमा उनलाई शंकै थियो तरैपनि प्रमाण भेटिएको खण्डमा विश्वास गर्न तयार पनि थिए। उनका केही टिप्पणीहरूलाई यहाँ उतारिएको छ:

सुश्री कूलम्यान कहिलेकाहीँ श्रोतागणतर्फ फर्केर हेर्थिन् र भन्थिन्, “यहाँ एकजना ब्रेस (brace, अड्याउने चीज) लगाउने व्यक्ति छ—खुट्टाको ब्रेस—तपाईंलाई अबदेखि उसो त्यो ब्रेस चाहिँदैन। त्यसलाई फुकालिदिनुस्। आउनुस् र आफ्नो चङ्गाइलाई दाबी गर्नुस्।” ब्रेसको नाम लिएर बोलाएको पहिलो पटकमा कोही अगाडि आएन। अन्तमा एउटी भर्खरकै राम्री युवती मञ्चमाथि आइन्। उनले आफ्नो खुट्टाको ब्रेसलाई हातले हल्लाउँदै देखाउँदैथिइन् र उभिरहेकीथिइन्। उनी यौटाचाहिँ सद्दे र अर्कोचाहिँ सुकेको खुट्टामा उभिरहँदा उनको पुट्ठाको हाड (pelvis) एकातिर नराम्ररी ढल्केको देखिन्थ्यो।

क्याथरिन कूलम्यानले उनलाई सोधिन्, “कति भयो यो ब्रेस लगाएकी?” “तेह्र वर्ष। सात वर्षमा पोलियो लागेदेखि।” “अब तिमी निको भयौ। अबदेखि उसो त्यो तिमीलाई चाहिँदैन। तिमीले त्यसलाई फुकालिसकेकी छौ।” “हो”, तिनले भनिन्। “मैले प्रभुमा विश्वास राखेकी छु। मैले प्रार्थना गरेकी छु, र उहाँले मलाई निको पार्दैहुनुहुन्छ।” सबैले ताली बजाए। युवती रोइन्।

उक्त दृश्य मेरो आँखामा पूर्णतया बीभत्स थियो। युवतीको खुट्टा दस मीनेट अगाडि जत्तिकै सुकेकै थियो। अहिले उनी दस हजार जनसमुदायसामु उभिएर प्रभुलाई—र अप्रत्यक्ष रूपमा क्याथरिन कूलम्यानलाई—प्रशंसा दिँदैथिइन्, एउटा चङगाइको निम्ति जुन चङ्गाइ भएकै थिएन न ता हुनेवाला नै थियो। उक्त घडीको भावोन्माद (hysteria, विकृत उत्तेजना) हराइसकेपछि, तेह्र वर्षदेखिको ब्रेसलाई फेरि—बाँकी जीवनभरिकै लागि भनेर—लगाउनै परेपछि त्यस युवतीको मनमा कस्तो लाग्ला, मैले अनुमान गर्न सक्थें।

अन्तमा एउटा भजन र अन्तिम आशीर्वादपछि प्रदर्शनी सकियो। पाङ्ग्रे मेचमा रहेका साह्रै निर्बल रोगीहरू पांङ्ग्रे मेचमै थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा आफ्ना अपाङ्ग बाल-बालिकाहरूलाई पाङ्ग्रे मेचमा गुडाउँदै एलभेटरतिर लग्दैगरेका बाबुआमाहरूको आँखामा मैले आँसु देख्दा मेरो मनमा यो देख्‍न त क्याथरिन कूलम्यान पनि मसँगै त्यहाँ हुनुपर्ने भन्ने लाग्यो। आशा भङ्ग भएका ती रोगीहरू र बाबुआमाहरूले कति पीडा भोग्दै छन् भन्ने कुरा क्याथरिन कूलम्यानलाई वास्तवमा थाहै छैन भन्ने मलाई लाग्यो। उनलाई थाह होला भनेर मैले विश्वास गर्न सकिनँ।

मञ्चबाट ओर्लँदै गरेका “चङ्गाइको दाबी” गर्नेहरूमध्येबाट अनुपरीक्षण (follow-up study) मा सहभागी हुन चाहने प्रत्येकको नाम, ठेगाना, फोन नम्बर र रोगको विवरण टिपोट गर्न मैले दुईजना कानूनी सहायकहरूलाई खटाएको थिएँ। ८२ जनाको नाम मिल्यो। कार्यक्रमको केही हप्‍तापछि, आइतवार जुलाई १४ का दिन मिनियापोलिस शहरमा आउन र आफ्नो अनुभव बताउन सूचीमा नाम भएको हरेकलाई पत्र पठाएर निमन्त्रणा दिइयो। २३ जना उपस्थित भए। मैले उनीहरू प्रत्येकसित त्यसपछिका महिनाहरूमा व्यक्तिगत अन्तर्वार्ता लिनका निमित्त बन्दोबस्त गरें।

निजहरूसित कुराकानी गर्दा, म यथासम्भव इमानदार, समझदार र निष्पक्ष रहने प्रयास गरें, तर मैले आफ्नो चिकित्सकीय ज्ञान र व्यावहारिक बुद्धि (common sense) लाई पन्छाउन सकिनँ। निजहरूले बताएका सबै कुरालाई मैले ध्यानपूर्वक सुनें, र त्यहाँ कुनै आश्चर्यकर्म भएको थियो कि भन्ने कुराको समर्थन गर्न सक्ने प्रत्येक सम्भावनालाई अनुसन्धान गरें। अध्ययनले मलाई एउटै निष्कर्षमा पुग्न बाध्य गरायो: चङ्गाइ कार्यक्रममा आफूहरूले चङ्गाइको दाबी गरी पछि मिनियापोलिसमा आई सो कुराको पुनः समर्थन जनाउने बिरामीहरूमध्ये एउटैले पनि वास्तवमै अलौकिक ढङ्गबाट (miraculously) कुनै कुराबाट चङ्गाइ पाएका थिएनन्। [William A. Nolen, M.D., “In Search of a Miracle,” McCall’s Magazine, September 1974. डाक्टर नोलेनले आफ्नो खोजीका परिणामहरूलाई इन सर्च अफ अ मिराकल (“आश्चर्यकर्मको खोजीमा”) भन्ने पुस्तकमा पनि प्रकाशित गर्नुभएको छ।]

वर्षौंदेखि संसारकै सर्वोत्तम चङ्गाइकर्ता (faith healer)  मानिएका क्याथरिन कूलम्यानसम्बन्धी क्यारिज्म्याटिक लहरका मित्र रिचार्ड कबीडोले यसरी लेख्‍छन्:

उनी रोगको नाम लिन्छिन्—निको हुन नसक्ने क्यान्सरदेखि लिएर एलर्जीहरू सम्म समेट्ने जुनसुकै रोग हुन सक्छ (यद्यपि अङ्गच्छेदित (amputated) हातखुट्टा कहिल्यै पुनः देखा पर्दैनन्; दाँतहरू अलौकिक ढङ्गमा सुनले भरिन्नन्)—अनि आफू चङ्गाइ भएको लाग्नेलाई मञ्चमा उभिएर गवाही दिन अगाडि बोलाउँछिन्। (तालिमप्राप्‍त कार्यकर्ताहरूले चङ्गाइको प्रमाणीकरण गर्न अघिबाटै यथासम्भव छानबिन गर्दछन्।) पुष्टिकरणका निमित्त अनुरोध गर्न सकियोस् भनेर मञ्चमा अक्सर डाक्टरहरू हुने गर्छन्; र चङ्गाइको पुष्टिकरणका निमित्त सबैलाई आ-आफ्नै डाक्टरकहाँ जान जोडसँग आग्रह गरिन्छ। कतिपय व्यक्तिहरूले गवाही ता दिन्छन् तर निको भएका भने हुँदैनन्; अरूहरूलाई चाहिँ केही सुधार भएको बुझिन्छ तर फेरि पछि त्यो बल्झिन्छ; सम्भवतः उपस्थितमध्ये धरैजसोले चङ्गाइ पाएकै हुँदैनन्। [Richard Quebedeax, The New Charismatics, page 86.]

२८) आधुनिक “चङ्गाइकर्ताहरू” ले आफ्ना असफल प्रायसहरूको स्पष्टिकरण कसरी दिन्छन्?

“चङ्गाइ गर्न हामीसित शक्ति नभएको होइन; बिरामी व्यक्तिको विश्वासको कमीले हो!” कुनै सिप नलागेपछि, बिरामीकै दोष!

२९) के ख्रीष्ट र प्रेरितहरूले पर्याप्‍त विश्वास गर्नेहरूलाई मात्र चङ्गाइ गरे?

मत्ती १२:१५ मा ठूला-ठूला भीड प्रभु येशूका पछि लागे र, उनीहरूसँग विश्वास होस् या नहोस्, “उहाँले ती सबैलाई निको पार्नुभयो”। प्रेरित ५:१६ मा रोगीहरूको एउटा ठूलो जमातलाई प्रेरितहरूकहाँ ल्याइएको थियो, “अनि तिनीहरू सबै निको पारिए”। विश्वासको शर्तबिना नै यी चङ्गाइहरू सबैलाई प्राप्‍य थियो। एउटै बिरामी निराश भई फर्कनुपरेन।

प्रेरित ३:१-८ मा जन्मैदेखिको लङ्गडोको चङ्गाइको उल्लेख गरिएको पाउँछौं। त्यस माग्नेले पत्रुसको हातबाट केही पैसा पाउने आशा गरेको थियो। चङ्गाइ हुन्छु भन्ने कुरा त उसको कल्पनाभन्दा बाहिरको कुरा थियो। आफू निको पारिन्छु भन्ने विश्वास त उसँग पक्कै पनि थिएन। पत्रुसले केही पैसा देलान् भन्ने सम्म उनले विश्वास गरे होलान् (पद ५) तर पत्रुसले उनलाई निको पार्लान् भनेर उनले विश्वास गरेका थिएनन्। परमेश्वरबाटको उक्त अलौकिक चङ्गाइ कार्यको, त्यस व्यक्तिको विश्वास वा अविश्वाससित कुनै सरोकार थिएन। [यस आश्चर्यकर्मको सन्दर्भमा प्रेरित ३:१६ मा उल्लेख गरिएको विश्वासले पत्रुसको ख्रीष्टमाथिको विश्वासलाई जनाएको हुनुपर्छ, लङ्गडोको विश्वासलाई होइन।]

प्रेरित २०:९-१२ मा पावलले एउटा व्यक्तिलाई सबैभन्दा गम्भीर रोगबाट चङ्गाइ गरेको पाउँछौं, अर्थात् मृत्युबाटै। यहाँ एक युवा वास्तवमै मरिसकेका थिए। निश्चय नै मरिसकेको व्यक्तिले विश्वास गर्न सक्दैन! “उसको विश्वासको कमीले गर्दा मैले उसलाई मृत्युबाट बिउँताउन सकिनँ” भनी कुनै आधुनिक चङ्गाइकर्ताले भन्नु त हास्यास्पद हुन्छ। यसले एउटा रोचक प्रश्‍न उब्जाउँछ: यदि आधुनिक चङ्गाइकर्ताहरूसित ख्रीष्ट र प्रेरितहरूसितको जस्तै चङगाइ-शक्ति छ भने, किन उनीहरू मरेकालाई बिउँताउँदैनन्?

३०) ख्रीष्ट र प्रेरितहरूका चङ्गाइका आश्चर्यकर्महरू कस्ता खाले थिए?

१) तुरुन्तै चङ्गाइ

प्रभु येशूले एउटा कोरीलाई छुनुभयो, अनि तुरुन्तै उनी आफ्नो कोर रोगदेखि शुद्ध भए (मत्ती ८:३)। येशूले दुई अन्धाका आँखाहरू छुनुभयो, अनि तुरुन्तै ती आँखाहरू देख्‍ने भए (मत्ती २०:३४)। पत्रुसले एउटा लङ्गडोलाई उनको दाहिने हातलाई समातेर जुसुक्क उठाए, अनि तुरुन्तै उनका खुट्टा र गोलीगाँठाहरूले शक्ति पाए र उनी उफ्रँदै कुद्‍ने भए। पुनःस्वास्थ्य लाभ प्राप्‍तिको लागि लामो समयको वा अन्य उपचारको त्यहाँ कुनै आवश्यकता थिएन।

२) सिद्ध र पूर्ण चङ्गाइ

“अनि जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने, तब तिनीहरूले वरिपरिका सबै इलाकाहरूमा पठाए, र सबै बिरामीहरूलाई उहाँकहाँ ल्याए; अनि उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई विन्ती गरे; अनि जतिले छोए, ती एकदम निको भए” (मत्ती १४:३५-३६)।

“अनि उहाँकै नामले, उहाँको नाममाथि राखिएको विश्वासद्वारा तपाईंहरूले देख्‍नुभएको र चिन्नुभएको यी मानिसलाई बलियो बनायो; अनि उहाँद्वाराकै विश्वासले यिनलाई तपाईंहरू सबैजनाका सामु यो सिद्ध स्वास्थ्य दिएको छ” (प्रेरित ३:१६)।

यसको तुलनामा क्याथरिन कूलम्यानको कार्यक्रममा चङ्गाइको दाबी गर्ने युवतीको सम्बन्धमा डाक्टर नोलेनको अवलोकनलाई विचार गर्नुहोस् त—एउटा सद्दे खुट्टामा र अर्को छोटो, सुकेको खुट्टामा उभिँदा पुठ्ठाको हाड नराम्री ढल्केको बयान छ। यसैलाई सिद्ध र पूर्ण चङ्गाइ त भनिँदैन होला!

३) सबका सब चङाइ

“तर यो कुरा थाह पाएर येशू त्यहाँबाट निस्कनुभयो; अनि ठूला-ठूला भीड उहाँका पछि लागे; अनि उहाँले ती सबैलाई निको पार्नुभयो” (मत्ती १२:१५)।

“अनि चारैतिरका शहरहरूबाट बिरामी मानिसहरूलाई र अशुद्ध आत्माहरूद्वारा सताइएकाहरूलाई लिएर एउटा भीड पनि यरूशलेममा भेला भयो; अनि तिनीहरू सबै निको पारिए” (प्रेरित ५:१६)।

४) नकार्न नसकिने चङ्गाइ

“तब एकजना दुष्ट आत्मा लागेको, अन्धा र गुँगा मानिस उहाँकहाँ ल्याइयो; अनि उहाँले त्यसलाई निको पार्नुभयो, यहाँसम्म कि त्यस अन्धा र गुँगा मानिस बोल्यो र देख्‍यो पनि। अनि सबै मानिसहरू छक्क परे, र भने: “के यहाँ नै दाऊदका पुत्र हुनुहुन्न र?” तर फरिसीहरूले यो सुनेर भने: “यस मानिसले दुष्ट आत्माहरूको शासक बेल्जेबुलद्वारा बिना दुष्ट आत्माहरू निकाल्दैन” (मत्ती १२:२२-२४)।

प्रभुका शत्रुहरूले उक्त आश्चर्यकर्मलाई नकार्न सकेनन्। त्यसैले उनीहरूले उक्त महान् आश्चर्यकर्म परमेश्वरको शक्तिले नभएर शैतानको शक्तिले गरिएको हो भनेर उहाँलाई आरोप लगाए।

“अनि निको पारिएको मानिसलाई उनीहरूसँगै उभिरहेको देखेर तिनीहरूले यस कुराको विरोधमा केही भन्न सकेनन्… “यी मानिसहरूलाई हामी के गरौं? किनकि उनीहरूद्वारा साँच्ची नै एउटा प्रसिद्ध चिन्ह गरिएको छ, यो यरूशलेमका सारा बासिन्दाकहाँ प्रकट भएको छ; र यो हामी इन्कार गर्न सक्दैनौं” (प्रेरित ४:१४,१६)।

यी मानिसहरू प्रेरितहरू र उनीहरूका सन्देशलाई घृणा गर्थे तर उनीहरूद्वारा गरिएको यस उल्लेखनीय आश्चर्यकर्मलाई उनीहरूले इन्कार गर्नै सकेनन्।

५) अतिदर्शनीय चङ्गाइ

लङ्गडा उफ्रँदै छन्, अन्धा देख्‍ने भएका छन्, कोरीहरू शुद्ध भएका छन्, दुष्टात्मा लागेकाहरू मुक्त भएका छन्, काटिएको कान तुरुन्तै जोडिएको छ र मरेका समेत बिउँताइएका छन्! मत्ती ११:५ अनुसार यस्ता अतिदर्शनीय चिन्हहरूले येशू साँच्ची नै मसीह हुनुहुन्छ भन्ने प्रमाण दिए:

“अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कोरीहरू शुद्ध पारिन्छन्, बहिराहरूले सुन्छन्, मुर्दाहरू बिउँताइन्छन्, र गरिबहरूलाई सुसमाचार सुनाइन्छ” (मत्ती ११:५, सन्दर्भलाई हेर्नुहोस् र यशैया ३५:५-६ सित तुलना गर्नुहोस्)।

३१) आधुनिक “चङ्गाइकर्ताहरू” का “आश्चर्यजनक” उपचारहरू कस्ता छन्?

१) शङ्कास्पद “चङ्गाइ”

एक प्रतिष्ठित र परचित चङ्गाइकर्ताको चङ्गाइ कार्यक्रमको छानबिन गरी प्रस्तुत गरिएको डाक्टर नोलेनको लेखलाई हामीले माथि नै उल्लेख गरिसक्यौं (#२७ मा हेर्नुहोस्)। मानौं कुनै एउटा चिकित्सकले ख्रीष्ट र प्रेरितहरूद्वारा चङ्गाइ गरिएकाहरूको जाँचपड्ताल गरे। मानौं कुनै एउटा चिकित्सकले लाजरसलाई उसको मृत्युको चार दिन पछाडि जाँच गरे! मानौं कुनै एक नेत्र विशेषज्ञले बर्तिमैलाई उसको आँखाले देख्‍ने भएपछि जाँच गरे! मानौं एउटा हाडजोर्नी विशेषज्ञले जन्मैदेखिको लङ्गडो उफ्रँदै गरेको हेर्न पाए (प्रेरित ३)! मानौं एउटा कानको विशेषज्ञले मालखसलाई उसको च्वाट्टै काटिएको कानलाई निको पारिएपछि जाँच गरे (लूका २२:५०-५१)! के यी आश्चर्यकर्महरूलाई शङ्का गर्ने कुनै ठाउँ हुन्थ्यो होला?

२) नियन्त्रित वातावरणमा गरिएका “चङ्गाइ”

“तर अनौठो कुरो के छ भने, चङ्गाइको वरदान भएको दाबी गर्नेहरू आफ्नो पाल, तम्बु वा टीभी कक्षभन्दा बाहिर कहिल्यै निस्केका देखिन्नन्। आफ्ना वरदानलाई उनीहरूले सदैव नियन्त्रित वातावरणभित्र अर्थात् उनीहरूकै इच्छाअनुसारको व्यवस्थापित मञ्चमा, उनीहरूकै समयतालिकामा, अभ्यास गरेको देखिन्छ। हैन, अस्पतालकै ठूला-ठूला भीडहरूका बीचमा उक्त चङ्गाइको वरदान प्रयोग गरिएको किन सुनिँदैन? यी चङ्गाइकर्ताहरूले आफ्ना वरदानलाई भारत र बङ्गलादेश जस्ता देशहरूमा किन प्रयोग गरिरहेका छैनन्? बाहिर बाटो-बाटोमै रोग-बिमारले ग्रस्त भएका मानिसहरू भेटिने स्थानहरूमा किन उनीहरू देखा पर्दैनन्? [John MacArthur, Jr., The Charismatics, p.134.]

३) निराशाजनक “चङ्गाइ”

चङगाइका निमित्त ख्रीष्ट वा प्रेरितहरूकहाँ आउने कोही पनि निराश भई फर्केनन्। तर हामीसँग डाक्टर नोलेनको यो टिप्पणी छ:

पाङ्ग्रे मेचमा रहेका साह्रै निर्बल रोगीहरू पांङ्ग्रे मेचमै थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा आफ्ना अपाङ्ग बाल-बालिकाहरूलाई पाङ्ग्रे मेचमा गुडाउँदै एलभेटरतिर लग्दैगरेका बाबुआमाहरूको आँखामा मैले आँसु देख्दा मेरो मनमा यो देख्‍न त क्याथरिन कूलम्यान पनि मसँगै त्यहाँ हुनुपर्ने भन्ने लाग्यो। आशा भङ्ग भएका ती रोगीहरू र बाबुआमाहरूले कति पीडा भोग्दै छन् भन्ने कुरा क्याथरिन कूलम्यानलाई वास्तवमा थाहै छैन भन्ने मलाई लाग्यो। उनलाई थाह होला भनेर मैले विश्वास गर्न सकिनँ। [William A. Nolen, M.D., “In Search of a Miracle,” McCall’s Magazine, September 1974.]

एउटा प्रतिष्ठित चङ्गाइकर्ताको सेवाकार्यको मूल्याङ्कन गर्ने क्रममा क्यारिज्म्याटिक लहरका मित्र रिचार्ड कबीडोले निष्कर्षमा भन्छन्,

“सम्भवतः उपस्थितमध्ये धरैजसोले चङ्गाइ पाएकै हुँदैनन्।” [Richard Quebedeax, The New Charismatics, page 86.]

अलौकिक चङ्गाइको आशा गरिरहेकाहरूलाई यो त निश्चय पनि त्यति उत्साहपूर्ण मूल्याङ्कन होइन।